March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अनलाईन कक्षा लिन विद्यार्थीलाई बैतडीका सात स्थानमा फ्रि वाइफाइ

बैतडी, विश्वव्यापी महामारी कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि दशरथचन्द नगरपालिकाले विद्यार्थीलाई अनलाईनबाट पढाई गराउन बैतडी सदरमुकामलगायत नगरपालिकाभित्र सात ठाउँमा फ्रि वाइफाइ जडान गरेको छ ।

बैतडी सदरमुकामको दरशरथचन्द नगरपालिका–४, गढी, गोठालापानी र शाहीलेक, सदरमुकामबाहिर गुरुखोला, देहिमाडौं, बस्कोट र रानीबुङ्गा गरी आठ स्थानमा फ्रि वाइफाइ जडान गरिएको हो ।

दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथका अनुसार बन्दाबन्दीले विद्यार्थीको पढाई प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल सात ठाउँमा फ्रि वाइफाइ जडान गरेर निःशुल्क ईन्टरनेट सेवा दिन सुरु गरिएको हो ।

उनलेे भने,“ नगरपालिकाभित्रका सबै विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा दिन सबै ठाउँमा जडान गर्ने प्रक्रियामा छौं । पहिलो चरणमा सात ठाउँमा जडान गरेका छौं । यसबाट करिब तीन हजार विद्यार्थी लाभान्वित भएका छन् ।”