
काठमाडौं, काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपनी शेयर बजार खुल्ने भएको छ । बुधबार अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने बताएका छन । ‘शेयर बजार निषेधाज्ञामा पनि खोलिने छ,’ उनले भने, ‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिने भइएको छ ।’ ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने उनको भनाइ छ ।
यता, लगानीकर्ता पनि शेयर बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो । लामो समय बन्द भएका कारण लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाएका थिएनन् ।





