
काठमाडौं, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि बिक्री खुला गरेको हो ।
उक्त आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मस्र्याङदी –६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो ।
यस्तै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।







