
काठमाडाैं, अध्यादेश मार्फत आज सिंहदरवारबाट प्रस्तुत गरिएको बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको हो ।
संविधानको धारा ११९ को उपधारा ३ अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सरकारले शुक्रबार मात्र आर्थिक सर्वेक्षण सार्वजनिक गरेको थियो ।
प्रतिनिधिसभा कायम नरहेकोबेला कोरोना माहामारीकाबीच सरकारले अध्यादेशमार्फत यो वर्षको बजेट सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षमा व्यापार घाटामा कमीआएको दावी गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा ९४ प्रतिशत राजस्व असुल हुने अनुमान बताएका छन् । अर्थमन्त्री पौडेलले कोभिड १९ को माहामारीबाट जनताको जीवन रक्षा गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहेको बताउनुभयो ।
यस्तै सरकारले सबै नागरिकलाई यथाशीघ्र कोभिड खोप निःशुल्करुपमा व्यवस्था गर्ने र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।
त्यस्तै, अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताका लागि ३७ अर्व ५३ करोड रुपियाँ विनियोजन गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन नदिन करारमा लिने व्यवस्था गरिएको उनले बताए । त्यस्तै, कोभिड नियन्त्रण तथा उपचारका लागि थप ४ अर्व रुपियाँ विनियोजन भएको छ ।







