
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।अर्थमन्त्री पौडेलले आज टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् ।
नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए ।
जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, “कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ ।”
“हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।”







