ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ बोहोरेमा दुई हप्ताअघि भएको दम्पती हत्याका अभियुक्त काठमाण्डाैबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दम्पती हत्यामा संलग्न भएको आरोपमा चिशङ्खुगढी गाउँपालिका वडा नम्बर ६ कै ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
यही माघ १२ गते राति ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको राति हत्या भएको थियो । उनीहरूले लुट्ने उद्देश्यले काठमाण्डाैदेखि ओखलढुङ्गा गएर हत्या गरेको पाइएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकाहरूको कोठाबाट मृतक राईले प्रयोग गर्ने मोबाइल, पक्राउ परेकाले प्रयोग गर्ने २ थान मोबाइल, लुटिएका १ सय ५९ थान रिचार्ज कार्ड, मृतक राईबाट लुटिएको कानको मारवाडी १ जोर र १ थान सिक्री बरामद गरेको छ । यस्तै सी माला र नगद १२ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू राति गाउँ गएर हत्या गरी राति नै भागेको पाइएको छ ।
चिशङ्खुगढी गाउँपालिका–६ मा यसअघि पुस १५ गते पनि ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी ६० वर्षकै श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो । लुटपाटका लागि मगर दम्पतीको हत्या गरेको आरोपमा पक्राउ परेका चिशङ्खुगढी गाउँपालिकाकै २८ वर्षीय सङ्गम राई, ४० वर्षीय विनोद राई, ४० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय अशोक भुजेल पुर्पक्षका लागि कारागारमा छन् ।





