छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा बुबा पक्राउ
सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय छोराको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर-१ देखि पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ ।
उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक पुरूषविरुद्ध गत कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता भयो ।सो जाहेरी बुवाले बहिनीकाे बलात्कार गरेकाे भन्दै छोराले दिएका थिए ।
जाहेरी दिने २१ वर्षीय भरत बुढाकाे साेमबार हत्या भयाे । प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका भरतकाे शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियाे । घटनाबारे प्रहरीले बेलुका १ बजे स्थानीयबाट खबर पाएको थियाे ।
घटना विवरण यस्तो छ – गत असोज २७ गते मृतककी बहिनी १९ वर्षीया किशाेरी मामाघरमा थिइन् । कामको सिलसिलामा भारतमा मजदुरी गर्दै आएका बुबा गाउँ आएको खबर पाइन् । उनलाई बुबाले घरमा बोलाए ।धेरै समयपछि घर आएका बुबालाई भेट्न उनी मामा घरदेखि घर गइन् । लामो अन्तरालपछि बुबासँग भेटिएकोमा उनी खुसी थिइन् । त्यो दिन बुबालाई त भेटिन् । तर, सोही रात उनले कहिले पनि कल्पना नगरेको घटना घट्यो । उक्त दिन खुशी बोकेर मामा घरबाट आएकी उनलाई बुबालाई भेटेको रातले तड्पायो ।
त्यसरात आफ्नै बुवाबाट बलात्कृत भएकाे बयान किशाेरीले दिएकी छन् । घटनाबारे उनले कान्छीआमालाई सुनाइन् । कान्छीआमाले उनलाई याे कुरा गुपचुप राख्न सल्लाह दिइन् । यस्ता कुरा बाहिर भन्यो भने आफ्नै इज्जत जान्छ भन्दै चुप लगाइन् । तर किशाेरीकाे मन मानेन ।घटना घटेको केही सातापछि मनमा आँट बटुलेर दाइलाई सुनाइन् । दाइले यस विषयमा बुवालाई साेधे । त्यसपछि बाबुछाेराकाे झगडा हुन थालेकाे किशाेरीकाे बयान छ ।
त्यसपछि किशोरीका दाइले एक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते बुबाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराए ।जाहेरीमा बताइएअनुसार किशोरीका दाइलाई उजुरी नहाल्न उनका बुबाले धम्कीसमेत दिएका थिए । छोराले उजुरी दिएपछि बुवा कान्छी श्रीमती लिएर भारत गए ।
किशोरीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भारतमा काम गर्ने आफ्ना बुबाले घरमा भेट्न बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ । ती किशोरीका दाइ र उनी जेठी पट्टिका सन्तान हुन् भने कान्छीबाट कुनै पनि सन्तान छैनन् ।
बहिनीलाई न्याय दिन लड्दै गरेका दाजुको मंगलबार राति विभत्स हत्या भयो । घरको बाख्राको खोरनजिक स्याउलाले ढाकिएको अवस्थामा ती किशोरीले आफ्ना दाइको शव फेला पारेकी थिइन् । पिसाब फेर्न निस्किएकी उनले दाइको हत्या भएको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । किशाेरी अहिले सेफहाउसमा छिन् ।
प्रतिकृया दिनुहोस्