मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

काभ्रेपलाञ्चोक, जेठ ५,जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरुलाई जर्वजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।

प्रहरीले नाबालिका तथा किशोरीलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा बिहिबार मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बनेपा नगरपालिका–१० स्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक लालमान तितुङ र चौरीदेउराली गाउँपालिका लामाटोल घर भई हाल तेमाल गेष्ट खाजा घरमा काम गर्ने श्याम लामा पक्राउ गरेको हो ।

बनेपा नगरपालिका–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालकले १३ देखि १७ वर्ष उमेर समूहका पाँच जना नाबालिका तथा किशोरीलाई वेश्यावृति गराउने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले होटलबाट उद्धार गरिएका नाबालिका तथा किरोशीहरुलाई संरक्षणका लागि माइती नेपालमा पठाइएको बताउनुभयो । वेश्यावृत्ति गराउने कार्यमा संलग्न होटल सञ्चालक लालमान तितुङ र होटलका कामदार श्याम लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम मुद्दा चलाई शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।