March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या

तनहुँ चैत १६ गते। सापटी दिएको रकम फिर्ता नगर्दा तनहुँमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ ।पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्याको अभियोगमा तनहुँ प्रहरीले काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरी तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पिपलटार खानेपानी ट्यांकीमा फालिदिएको प्रहरीको आरोप छ ।

गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।

घर–घरमा वितरण गरिएको धाराबाट पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको थियो ।

गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यान्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए । सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफ्नो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीले जनाएको छ ।

सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहुँ प्रहरी प्रमुख (एसपी) अवधेश विष्टले बताए ।‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिंदा सुनारले हत्यालाई अन्जाम दिएको हो । हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको थियो’, विष्टले भने ।

सुनारले महिलाको गरगहना पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदीका सञ्चालक रविनकुमार गहतराजलाई बिक्री गरेका थिए । गहतराजलाई पनि प्रहरीले पक्रेको छ ।सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकबाट पक्राउ परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको