April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आफ्नै छोरा र ज्वाई मिलेर गरे ससुराको हत्या

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत पुस १० गते आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाइँसहित तीन जनालाई पक्राउ गरेको छ । एकजना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दासका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराइन नगरपालिकास्थित जटहीका सुटर रञ्जित यादवलाई पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रह्री नायब उपरीक्षक विश्वराज खडकाले जनाएका छन् ।

छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार सुटरहरूलाई दुईपटकमा ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको थियो । केही दिनदेखि उनी घरमै ग्यासको पसल सञ्चालन गर्दै आएका थिए ।

मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न गएको व्यक्तिले गोली प्रहार गरी फरार भएको स्थानीयवासीहरुले बताएका थिए । दासले दुईवटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट दुई छोरा छन् । उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतिबाट एउटी छोरी रहेकी छन् । दास ग्यारेज र पसल संचालन गर्दै आएको घरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए भने उनको जेठी श्रीमती भित्री गाउँमा रहेको अर्कै घरमा छोराहरुसँग बस्दै आएका छिन् । कान्छी श्रीमतीसँग पनि एउटी छ महिनाकी छोरी छिन् । उनको कान्छी श्रीमतीले पनि दुई वटा विवाह गरेकी थिइन् । पहिलेको श्रीमानलाई छोडेर उनी दाससँग विवाह गरेका थिइन् ।

केही दिन यतादेखि जेठी श्रीमतीसंग उनको विवाद हुँदै आएको थियो । दुबै जनाको सम्बन्ध सम्पत्ति विवादको कारणले भइहेको प्रहरी अनुसन्धानमा देखिएको छ । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नु पर्ने विषयमा भएको विवाद नै उनको हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको