
एक महिलाले काठमाडौं बसेर राष्ट्रियस्तरको टेलिभिजनमा काम गर्ने एकजना पत्रकारलाई आफू पीडामा परेको भन्दै समाचार बनाइदिन आग्रह गरिन् ।ती पत्रकारसँग उनको साथीमार्फत चिनजान भएको थियो । उनले अदालतमा मुद्दा चलिरहँदा न्यायाधीशले घुस मागेको भन्दै त्यसको समाचार बनाइदिन आग्रह गरेकी थिइन् ।उनको कार्यक्रम साँझपख आउँथ्यो ।
कार्यक्रम चलिरहँदा पनि ती महिलाको निरन्तर फोन आइरह्यो । कार्यक्रम सकिएपछि उनी महिलाले बोलाएको ठाउँ बौद्ध पुगे ।बौद्धको प्रहरी वृत्तनजिकै एउटा पसलको सटरअगाडि पुग्दा उनलाई बोलाउने महिला सिन्धुलीको कमलामाई नगरपालिका– ६ की ३१ वर्षीय कल्पना बस्नेत त्यहीँ थिइन् ।
वर्षातको समय भएकाले झरी परिरहेको थियो । उनले झरीका बावजुद बाहिरै उभिएर ती महिलासँग समाचारबारे कुराकानी गरे । ती महिला क्याफेमा गएर कुरा गरौं भन्दै थिइन् ।उनले पत्रकारले मागेअनुसार प्रमाण दिन सकिनन् । त्यसपछि ती पत्रकार समाचार बन्दैन भनेर त्यहाँबाट निस्किए ।
उनले प्रहरीलाई बताएअनुसार कुरा साँझ ६ बजे आसपासको हो ।त्यहाँबाट फर्किएपछि राति करीब १० बजे ती पत्रकारलाई एक पुरुषको फोन आयो ।आफू कल्पनाको श्रीमान् भन्दै ती पुरुषले उनीमाथि गम्भीर आरोप लगाए ।ती पुरुष थिए, सिन्धुलीको कमलामाई नगरपालिका– ६ का ३१ वर्षीय कृष्णहरि खड्का ।
आफ्नी श्रीमती बलात्कार गरेको आरोप लगाउँदै कृष्णहरिले प्रहरीमा उजुरी दिन्छु भनेर धम्क्याए । यो क्रम निरन्तर जारी रह्यो ।उनले तपाईंले हैन, अब मचाहिँ प्रहरीमा उजुरी दिन्छु भनेपछि फोन आउन छाड्यो ।(प्रहरीलाई दिएको बयानका आधारमा)फोन आउन छाडे पनि उनले प्रहरीमा उजुरी भने दिए । उनले शान्ति सुरक्षाको मागसहित प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए ।
उजुरी परेपछि प्रहरीले कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि बस्नेत र यही प्रकरणमा संलग्न अर्का एकजना सिन्धुली कमलामाईकै २८ वर्षीय सञ्जय कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।उनीहरूमाथि एकजना व्यापारीसँग ४० लाख रुपैयाँ बार्गेनिङ गरेको आरोप पनि छ ।
ती व्यापारीको कल्पनासँग चिनजान बौद्धको खुद्रा पसलमा सामान पुर्याउन जाँदा भएको खुलेको छ । उनले व्यापारीलाई एक होटलमा खाजा खान जाऊँ भन्दै लगेकी थिइन् ।त्यहाँ बिरामी भएको नाटक गरेर ‘हनी ट्रयाप’मा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार खाजा खाँदाखाँदै आफूलाई चक्कर आएको बहाना बनाएर होटलको कोठामा लगेको र व्यापारी छिर्नेबित्तिकै उनी निस्किएर आफू बलात्कारमा परेको बताएकी थिइन् ।
ती व्यापारीलाई कल्पना र कृष्णहरिले प्रहरीमा उजुरी दिने भन्दै धम्क्याउन थाले । उनले आफ्नो इज्जत जाने भन्दै श्रीमान् श्रीमतीसँग त्यसो नगर्न आग्रह गरे तर उनीहरूले ४० लाख रुपैयाँ दिए मात्र केही नगर्ने बताए ।
उनीहरूले प्रहरीमा उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फोन समेत गर्न भ्याएको खुलेको प्रहरीले जनाएको छ ।
ती इन्स्पेक्टर छिट्टै शान्ति मिसनमा जाने भएकाले तत्काल केश मिलाउन दबाब दिने गरेको पनि व्यापारीले प्रहरीसँगको बयानमा खुलाएका छन् ।
ती व्यापारीको उजुरीका आधारमा साउन १ गते काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखिएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।लाेकान्तरबाट सभार







