
लोक गायिका दिलमाया सुनारको सल महाराजगञ्जमा भेटिएको छ । काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी गायिकाको सल महाराजगञ्ज स्थित नालीमाभेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।

शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्वीकारेका छन् । प्रहरीको अनुसन्धानबाट गायिकाको सल श्रेष्ठले नै महाराजगञ्जस्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार नालीमा फेला परेको सल गायिकाको भएको पुष्टि भएको छ । सूर्य श्रेष्ठले सल फालेको स्वीकार गरेपनि हत्या गरेको अस्विकार गरेका छन् । शुक्रवार साँझ पौने ९ बजे खसीको मासु लिएर श्रेष्ठ गायिकाको डेरामा गएको अनुसन्धानबाट थाहा भएको छ ।
मासु, भात र अचार बनाएर दुवैले खाए । छातीमा चोट लागेको हुनाले खाना खाएपछि आफू मल्हम र नदुख्ने औषधी किन्न बाहिर निस्केको श्रेष्ठले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार श्रेष्ठले गायिकाको डेरामा ३ गिलास रक्सी खाएका थिए । करिब पौने १२ बजेतिर उनी औषधी किन्न निस्केका हुन् ।
औषधी खाएर आफू निदाएको र गायिका मोवाइल चलाएर बसेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । ‘ब्यूझिँदा झुण्डिएको देखेँ’ श्रेष्ठले भनेका छन्–‘पहिलेपनि विष खाएर आत्महत्या प्रयास गरेको हुनाले बचाउन सक्छु भनेर पासोबाट निकालेर तल राखेँ, कृत्रिम स्वास दिएँ ।’ उनीहरु लिभिङ टुगेदरमा रहेको बताइएको छ ।
तर, गायिकाको शरीर चिसो भएपछि आफू गोठाटार गएको श्रेष्ठले प्रहरीलाई बताएका छन् । श्रेष्ठको डेरा गोठाटारमा छ । नेपालटारबाट करिब ४ बजे निस्केका उनले बाटोमा जाँदा सल फालेर हिँडेका हुन् ।
लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन् । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
पोष्टमार्टम रिपोर्ट नआउँदासम्म गायिकाले आत्महत्या गरिन्, या हत्या भयो भन्नेबारे भन्न नसकिने अनुसन्धान कार्यालयका एसएसपी कुँवरले बताए ।मृत्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्–‘जिवनसँह हार खाएँ ।’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।







