
काठमाडौं, युवतीलाई बलात्कार गरेको अभियोगमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार दिउँसो काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी शनिबार बिहानैदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीको निगरानीमा थिए ।
पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । युवतीले आफूमाथि बलात्कार भएको जानकारी भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन् ।
पछिल्लो समय यस घटनाबारे निकै गुनासो र विवाद भएपछि संसदमा पनि कुरा उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
निर्देशन लगत्तै प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ ।
यसैगरी सञ्चालन पाण्डेले छ महिनासम्म दबाबमा राखी आफूलाई बलात्कार गरेको पिडितले भिडियोमार्फत बताएकी छन् ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।
‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’
यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।
बिहान घर जाने बेलामा ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।
उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन् ।
आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।
यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।







