कान्छी श्रीमतीले विराटनगरमा हत्या गरी धरानको जंगलमा टुक्रा पारेर फालिदिए
झापा दमकका ४३ वर्षीय दिनेश सिग्देल दश वर्षअघि सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरकी ३० वर्षीया अनिता केसीसँग प्रेमसम्बन्धमा जोडिए । घरका एक्लो सन्तान सिग्देल थिए। दिनेश सिग्देलले ११ वर्ष अघि अनितासँग दोस्रो विवाह गर्दा आफ्नो परिवारको सहमति पाएका थिएनन् । बुबा, जेठी श्रीमती निर्मला लगायत परिवारका अन्य सदस्यको मन दुखाएर कान्छी श्रीमतीका रूपमा अनिता केसीलाई भित्र्याएका दिनेशले ११ वर्षपछि अनिताकै कारण ज्यान गुमाउनु पर्यो ।
विराटनगरबाट सिङ्गो परिवार झापाको दमक स्थानान्तरण भए पनि दिनेश र उनकी कान्छी श्रीमती अनिता भने विराटनगरमै बस्दै आएका थिए । १० महिनाअघि बहराइन गएका उनी कान्छी श्रीमतीसँगै समय बिताउन भनी केही साताका लागि नेपाल आएका थिए ।
विराटनगरमा हत्या गरी धरान नजिकैको जंगलमा टुक्रा पारेर फालिएको अवस्थामा दिनेशको शव फेला परेको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिता र सरोज भण्डारीलाई पक्राउ गरिसकेको छ । अनिता र सरोजबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ ।
परिवारको असहमतिबीच विवाह गरेका थिए अनितालाई
दिनेशले झण्डै २३ वर्ष अगाडि निर्मलासँग मागी विवाह गरेका थिए । निर्मलातर्फ उनका २ छोरा र २ छोरी छन् । तर, दिनेशले ११ वर्ष अगाडि कान्छी श्रीमती ल्याए ।
दिनेशले आफूखुसी गरेको उक्त विवाहप्रति भने परिवारले असहमति जाहेर गरेको थियो । ‘उसले पछिल्लो विवाह बाहिरबाहिरै गरेको हो । घरबाट मागी विवाह होइन, उसको आफ्नो मनखुसीको विवाह हो,’ दिनेशका बुबा सुरेन्द्र सिग्देलले भने, ‘त्यो विवाह गरेको ११ वर्ष जति भयो । उतापट्टीकी ८ वर्षकी छोरी छे ।’
दोस्रो विवाह भइसकेपछि दिनेश कहिलेकाहीँ मात्रै बुबा भएठाउँ (दमक) जान्थे । उनले जेठीतर्फका छोराछोरी भेट्थे तर, जेठी श्रीमती निर्मलालाई भने उनले वास्ता नगरेको पिता सुरेन्द्रले रातोपाटीलाई बताए ।
‘आउने जाने कहिलेकाहीँ हुन्थ्यो । तर, यतै आएर ढुक्कै बसेर घरधन्दा गरेर बसेको चाहिँ होइन,’ सुरेन्द्रले भने, ‘कान्छी बुहारी पनि कहिलेकाहीँ आउँथी । बीचमा उनीहरूको खटपट भएको हामीलाई केही थाहा छैन ।’
छोरा दिनेश विदेशबाट आउँदा जाँदा पनि आफूलाई खासै थाहा नहुने गरेको उनका पिता सुरेन्द्रले बताए । ‘विराटनगरमै घर थियो । उनीहरूलाई त्यहीँ छोडेर म झापा आएको हुँ । दोस्रो विवाहपछि ऊ हामीसँग धेरै घुलमिल पनि भएन,’ सुरेन्द्रले भने, ‘उतै खान्थ्यो, उतै बस्थ्यो, विदेशबाट आउँदा पनि उतै आउने, उतैबाट जाने गर्थ्यो । पैसा पनि उतै दिन्थ्यो ।’
दोस्रो विवाह गरे पनि दिनेशले जेठी श्रीमतीसँग डिभोर्स गरेका थिएनन् । छोराछोरीलाई कहिलेकाहीँ दिनेशले खर्च दिने गरेको भए पनि जेठी श्रीमतीलाई पैसा दिएको आफूलाई थाहा नभएको सुरेन्द्रले बताए । ‘कहिलेकाहीँ छोराछोरीलाई खर्च दिन्थ्यो अरे, तर, जेठीलाई दिएको मलाई थाहा भएन,’ उनले भने ।जेठी बुहारीलाई आफूले नै आवश्यक सरसहयोग गर्दै आएको उनले बताए ।
अनिताकै लागि नेपाल आएका थिए दिनेश
गत माघ २१ गते बहराइनबाट काठमाडौँ आएका दिनेश सिधै कान्छी श्रीमती अनितालाई भेट्न विराटनगर आए । नेपालमा १५ दिन बस्ने योजना अनुसार आएका उनको दुई दिनमै हत्या भयो ।प्रहरीका अनुसार दिनेश लामो समयदेखि बहराइनमा बस्दै आएका थिए । उनी बहराइनबाट समय समयमा आउने र केही समय बसेर फर्कने गरेका थिए ।
पति दिनेशको अनुपस्थितिमा अनिताले विराटनगरका सरोज भण्डारीसँग प्रेम सम्बन्ध गाँसेको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ । बहराइनबाट दिनेशले पठाएको पैसामा उनीहरूले मोजमस्ती गर्दै आएका थिए ।दिनेशले पठाएको रकमबाटै अनिताले सरोजलाई १ लाख रुपैयाँ ऋण दिएकी थिइन् । उक्त रकम फिर्ता नहुँदा अनिता र सरोजबीच केही समय खटपटसमेत भएको थियो ।
श्रीमान् आएपछि रकम देखाउनु पर्ने दबाबमा थिइन् अनिता केसी । सिटी सफारी चालक रहेका सरोजले रकम दिन नसक्ने भएपछि बरु विवाह गर्ने र त्यसका लागि थप ७५ हजार रुपैयाँ रकम दिने प्रस्ताव अनिताले गरिन् ।‘त्यही बीचमा श्रीमान् दिनेश नेपाल आउने जानकारी पाएपछि उनको हत्या गर्ने योजना बनाएको पाइएको छ,’ सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।
घटना कसरी भयो ?
२१ गते माघमा काठमाडौँ ओर्लिएर सिधै विराटनगर आएका दिनेश सो दिन विराटनगरको नोबेल अस्पताल नजिकैको होटलमा बसेका थिए । भोलिपल्ट दिनेश र अनिता विराटनगर–३, पिपलचोकस्थित डेरामा आएका थिए । ‘सोही कोठामा हत्या गर्ने योजना अनुसार सरोज पनि कोठामा आइ दिनेशसँग केही समय सामान्य कुरा गरेको पाइएको छ,’ थापाले भने, ‘त्यसपछि परिबन्धमा पारेर सरोजले साथमा लिएर आएको गलबन्दीले अनिता र सरोज मिलेर दिनेशको घाँटीमा कसी हत्या गरी सोही रात त्यही कोठामा शव छोडेर बाहिर बसेका थिए ।’
प्रहरीका अनुसार दिनेशको हत्या भइसकेपछि भोलिपल्ट (माघ २३ गते) बिहान दुवै जना शव व्यवस्थापनमा लागेको देखिन्छ । उनीहरूले स्थानीय पसलबाट ४ हजारमा ग्रेडर मेसिन, ३ थान जेब्रा झोला र पोलिथिन खरिद गरेर ल्याए । त्यसपछि दुवै जनाले सो शवलाई ग्रेडर मेसिन र खुकुरी प्रहार गरी टाउको र एउटा खुट्टा टुक्राएका थिए ।
टुक्राटुक्रा पारेर एउटा झोलामा टाउको र खुट्टा, अर्को झोलामा शरीरको बाँकी भाग हालेर दिनभर उनीहरू शव व्यवस्थापनको उचित अवसर कुरेर बसेको प्रहरीको भनाइ छ । त्यही दिन साँझ उनीहरूले ट्याम्पो भाडामा लिएर इटहरी, धरान हुँदै जङ्गलमा शव फालेको र सो रात उनीहरू भेँडेटार बस्न गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भेँडेटार बसेर भोलिपल्ट दुवैजना विराटनगर फर्किएको प्रहरीको भनाइ छ ।
अनिताको माइती सुनसरीको प्रकाशपुर हो । उनकी ७ छोरी वर्षकी छोरी छन् । बुबाको हत्या गरेको दिन छोरी मामाघरमा थिइन् । हत्यामा संलग्न सरोज भण्डारी भने विराटनगरका सिटी सफारी चलाउँथे ।उनको एक छोरी र श्रीमती छन् । यद्यपि अनितासँगको प्रेम सम्बन्धपछि श्रीमतीसँग सरोजको खटपट रहेको र सम्बन्ध विच्छेदको प्रक्रियामा रहेको पाइएको छ ।
मास्कका कारण प्रहरीलाई शव पहिचानमा सहज
फागुन ४ गते बेलुका ५ बजे सुनसरीको धरान–४ स्थित कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डको जेठामाने गोलाईमा सडकभन्दा ४५ फिट पश्चिममा जेब्रा झोलामा दिनेशको शव फेला परेको थियो । त्यसबेला शव गल्ने अवस्थामा थियो ।
टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको भाग फेला परेको भोलिपल्ट सो स्थानमा कुकुरसहित खटिएको प्रहरी टोलीले डेढ किलोमिटर माथि सडकभन्दा ३२ फिट तल जेब्रा झोलामै अर्को टुक्रा शव फेला परेको थियो ।
प्रहरीले एक थान सर्ट, जिन्स पाइन्ट, निलो रङको हाइनेक, खैरो रङको हाफ पाइन्ट र पाइन्टको गोजीमा एसेट प्रोटेक्सन, टट्वेर पेट्रोलियम, बिएच मास्क लेखिएको फेस मास्क १ थान र आरआइओ टावर, (कमल तालेव), एक्जुकेटिभ डाइरेक्टर, रियो टावरर्स लेखिएको भिजिटिङ कार्ड र खैरो रङको गलबन्दी फेला पारेको थियो ।
प्रहरीलाई शव पहिचान गर्न झण्डै एक हप्ता लाग्यो । त्यसका लागि सहयोगी बनेको थियो बहराइनको मास्क । ‘मानव अङ्गहरु फेला परेको स्थानबाट बरामद भएको मास्कका बारे बुझ्न प्रदेश प्रहरी कार्यालय, इन्टरपोल शाखामार्फत बहराइन प्रहरीलाई समन्वयका लागि पत्राचार गर्यो ।फागुन ९ गते बहराइन प्रहरीमार्फत प्रहरीले अहम् जानकारी हासिल गर्यो । पुस २० गते टट्वेर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने इलाम बाँझो घर भइ हाल दमक ५ मा बस्ने दिनेश सिग्देल बिदामा गएको अवधि पूरा हुँदा पनि फर्की नआएको खुलेको पत्र नेपाल प्रहरीलाई प्राप्त भयो ।
त्यसपछि उनको परिवार खोज्दै प्रहरी झापाको शिवसतासी–११, झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतककी जेठी श्रीमती निर्मला सिग्देललाई भेटेर शव सनाखतका लागि ल्याएको थियो । उनीहरूले शव दिनेश सिग्देलकै भएको सनाखत गरेपछि विराटनगर–३ स्थित पिपलचोकमा बस्ने अनिता केसीमाथि निगरानी बढाएको थियो ।सोही निगरानीका आधारमा केसी र उनीसँग अवैध सम्बन्धमा रहेका सरोज भण्डारीलाई प्रहरीले प्रमुख दोषीको रूपमा प्रमाणित गरेपश्चात् पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस्