September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

मोरङ हत्याकाण्ड: तीन जनाको हत्या गर्न १५ लाखको सुपारी

काठमाडौं, मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको पाइएक्क छ ।

गत मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । तर उनको शव माघ २० मा मात्र भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।

३ जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो ।

उनीहरूलाई अमित शाहले जनही ४० हजार रुपैयाँ ‘सुपारी’ दिएका थिए । अनुसन्धानबाट ३ जनाले जनही ४० हजार लिएको खुलेको मोरङका एसपी जनार्दन जिसीले बताएका छन् । उनले भने, ‘अनिल र अमित मुख्य मान्छे हुन्, अरूलाई जनही ४० हजार नेपाली रुपैयाँ दिएर प्रयोग गरेको देखिन्छ ।’

अनिलको योजना सफल बनाउन हत्याको परिपञ्च मिलाउने र हत्या गर्ने मान्छे खोज्ने काम अमितले गरेका थिए । अमितले ४० हजार ‘सुपारी’ दिएर ३ जनासँग काम भएपछि १५ लाख रुपैयाँ दिने ‘डिल’ गरेको अनुसन्धानबाट थाहा भएको छ ।

‘१५ लाखमा डिल भएपछि सबैजना मिलेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘डिल अमितले गरेका थिए, हत्या गर्ने र खाल्डो खन्ने ३ जनाले अमितलाई मात्र चिन्छन्, अनिललाई चिन्दैनन् ।’ हालसम्म खुलेका ५ जना आरोपीलाई पक्रेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ । साभार रातोपाटी

शीर्ष समाचार

धेरै पढिएको