अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट आठ महिलासहित ७४ जना पक्राउ

काठमाडौं, काठमाडौंको बौद्धमा प्लटिङ नजिकको एक रेस्टुरेन्टमा अनलाइन बिंगो खेल्ने र खेलाउने ७४ जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ महिला रहेको छ ।
दोलखा घर भइ हाल बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले संचालन गरेको उक्त रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो । कोरोना महामारीमा ठूलो संख्यामा मानिस भेला भई अनलाइन जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले छापा मार्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी प्रहरीले खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद बरामद गरेको छ । हाल उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऎन, २०७४ अनुसार ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्