
स्याङ्जा, स्याङ्जाको वालिङ–१० भकुण्डेमा चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बुधबार पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको हो ।
गह्रौं प्राथमिक स्वास्थ्य केन्द्रले चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई मृत घोषणा गरेको थियो । यसैगरी मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढिऔँलामा चोट लागेको छ ।
हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।







