October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्ने खोज्ने खिमबहादुर पक्राउ

काठमाडौं, नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने खोज्ने एक युवक पक्राउ परेका छन् । रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा सोकेस फुटाएर श्रीपेच झिक्ने प्रयास गरेका थिए ।

उनले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् ।

उनले भने, ‘उनले संग्रहालयको श्रीपेच कक्ष (रुपन्देही कक्ष) बाट खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए । सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’

संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको