
मकवानपुर, मकवानपुरमा एक क्विन्टल लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार प्रहरीले गाँजासहित हेटौंडा–१ बाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका–५ बस्ने चालक ४९ वर्षीय आइतेबहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भएको भन्दै मकवानपुर भीमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुविन रुम्बा रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरेको हो । ट्रक चेकजाँच गर्दा क्याबिनको हुटमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।







