June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

नक्कली स्टिकर टाँसेर औषधी बिक्री गर्ने मेडिकल संचालकसहित २ जना पक्राउ

विराटनगर, सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् ।

शुक्रबार दिउँसो १२ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेम्डिसिभिर नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो ।

आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि रेम्डिसिभिर औषधीको नक्कली स्टिकर टाँसेर ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो ।

सो क्रियाकलापमा संलग्न अर्का यादव भने यसअघि २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको सो कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको