February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

बैतडीका छोरीलाई गोली हानी हत्या गरेर फरार रहेका बाबु पक्राउ 

  • 1
    Share
सांकेतिक तस्वीर

बैतडी, आफ्नै छोरीलाई गोली हानेर हत्या गरि फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० का धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार उनलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अभियुक्त महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताएका छन् ।

बहुविवाह गरेका धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरी हत्या गरेका थिए ।

‘महरालाई नियन्त्रणमा लिन सफल भएका छौँ। तर, उनले लिएर हिँडिरहेको बन्दुक भने अझै फेला परेको छैन’, प्रहरी निरीक्षक धामीले भने, ‘बन्दुक लुकाएको भनिएको स्थानमा अहिले हामीहरु खोजी गरिरहेका छौँ।’

गोली लोड गरिएको भरुवा बन्दुकसहित फरार धनबहादुरले छोरीको हत्यापछि पनि शनिबार राति गाउँमा आतंक मच्चाएका थिए भने सोही रात उनले आफ्नै घरमा आगजनी गर्नुका साथै बन्दुक देखाउँदै स्थानीयलाई धम्क्याएका थिए ।

पक्राउ परेका महरालाई ईलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा र हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको