April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पाँचथरमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

पाँचथर, पाँचथरमा बञ्चरो प्रहार गरी एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एकतीस वर्षीय धनबहादुर उभरकोटीले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् । उनले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् ।

घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए ।

धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको