
सप्तरी, जिल्ला अदालतको फैसलापछि फरार रहेका ३१ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । एक दिनअघि त्यस्ता १४ जना पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार जिल्ला अदालतको फैसलापछि फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५५ वर्षीय कुशेश्वर भन्ने खुसहर महतो ३२ वर्षपछि पक्राउ परेका छन् । उनविरुद्ध दर्ता भएको कुटपिट मुद्दामा विसं २०४५ मङ्सिर २७ गते अदालतले फैसला सुनाएको थियो । सोही दिनदेखि फरार भएका उनलाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रनाउ भारतीले जानकारी दिएका छन् ।
यसैगरी अदालतको अपहेलना मुद्दामा २८ वर्षदेखि फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–१ का ४० वर्षीय दुर्गानन्द यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०४९ माघ १५ गतेको फैसलापछि यादव फरार थिए । कुटपिट मुद्दामा साढे २२ वर्षपछि तिरहुत गाउँपालिका–१ का ५५ वर्षीय रामजी मरिक यादव पक्राउ परेका छन् । अदालतले उनीविरुद्ध २०५४ चैत २६ गते फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका ३१ जनामध्ये कुटपिट मुद्दाका १३, लुटपाटका तीन, कुटपिट र लुटपाट मुद्दाका तीन, केही सार्वजनिक अपराध मुद्दाको तीन, वनको दुई जना पक्राउ परेका छन् । यसैगरी कर्तव्य ज्यान, अपहरण, डाँका, बहुविवाह, अदालतको अपहेलना, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका एक÷एक फरार अभियुक्त पक्राउ परेका छन् ।







