
कास्की, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।बगण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्मामा अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।







