December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

बिचौलिया सक्रियताले धान खरिद ठप्प

विरगञ्ज, जिल्लामा पछिसमय धान खरिदमा बिचौलिया निकै सक्रिय भएपछि धान खरिद कार्य बन्द भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले मापदण्ड बनाएर थप व्यवस्थित ढङ्गले धान खरिद गर्न केही दिनका लागि खरिद कार्य रोकिएको जनाएको छ ।

यद्यपि किसानले भने किसानको धान खरिद गर्न रोकेर भित्रभित्रै व्यापारी र बिचौलियाले ल्याएको धान कम्पनीले खरिद गरिरहेको आरोप लगाएका छन् । किसान शिवजीप्रसाद साहका अनुसार बिचौलियाको आर्थिक प्रभावमा कम्पनीका कर्मचारीले किसानको धान खरिद गर्न विभिन्न बहाना बनाई अलमलाई रहेको आरोप लगाए ।

यसैगरी तीन दिनदेखि धान ट्याक्टरमा लोड गरी ल्याएकामा कम्पनीका कर्मचारीले विभिन्न बहानामा धान खरिद गर्न नमानेको तर बिचौलियाको धान खरिद भइरहेको उनले सञ्चारमाध्यमलाई बताए ।

स्थानीयका अनुसार बिचौलिया गाउँघरमै पुगेर सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल ४०० देखि ५०० रुपियाँ कममा धान खरिद गर्ने र सो रकमको केही हिस्सा कम्पनीका कर्मचारीलाई दिएर धान बिक्री गर्ने गरेको छ ।

यस वर्षका लागि सङ्घीय सरकारले सोना मन्सुलीको मूल्य प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ र प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले जिरा मसिनोको प्रतिक्विन्टल दुई हजार ९१० रुपियाँ कायम गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको