गोलभेँडाले मुल्य नपाउँदा किसान मर्कामा, प्रतिकिलो १० रुपैयाँमा बेच्न बाध्य

पाँचथर, जिल्लामा गत वर्ष प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा बिक्री भइरहेको छ । बन्दाबन्दी र गुणस्तरमा प्रश्न उठ्नाले पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन ।

गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राउन नसकेका हुन् ।

कोरोना महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो ।

याङवरक–६ का गोलभेँडा उत्पादक कृषक रामकुमार गुरागाईँ बताउँछन् “पोहोर साल प्रतिकिलो रु २० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन । यसपालि त रु १०/१२ मा बेच्न पनि कठिन पर्‍यो ।” बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक उनको भनाइ छ ।

उनले भने, “हामी कृषक आफैँले बजार पुर्‍याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन । निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।”

२५ रोपनी खेतमा बर्खे गोलभेँडा लगाउनुभएका गुरागाईँले कम्तीमा रु एक लाख आम्दानी गर्ने सोच बनाउनुभएको थियो । “अघिल्ला वर्षहरुमा रु एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ”, उनले भने, “यसपालि त साँवा नै उठेन ।”

यसैबीच हिलिहाङ–१ का केशव भण्डारी यस वर्ष गोलभेँडाले उचित मूल्य पाउन नसकेको बताउँछन् । उनले भने, “रु १०/१२ मा बिक्री भइरहेको छ । यसले कृषकलाई मारमा पार्‍यो ।”

याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेँडाले उचित मूल्य नपाउँदा सयौँ परिवार कृषक मारमा परेको बताए । उनले भने, “हामीकहाँ गोलभेँडाको खेती नगर्ने परिवार नै छैनन् । मूल्य निकै कम हुँदा सबै जना मारमा पर्नुभएको छ ।”