
बन्दीपुर, बन्दीपुरलाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । बन्दीपुर गाउँपालिका–१ लाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो ।
वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको हो । गाउँपालिकाले बाख्रापालनका लागि १ नं वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले बताए ।
वडाका अगुवा किसानलाई जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उनले बताए ।
बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो ।
बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । उनले भने, “किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।”







