February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

आलु रोप्ने समय शुरु तर बीउ अभाव हुँदा किसान चिन्तित

  • 7
    Shares

फुङलिङ, ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । त्यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरी मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताएका छन् । यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपिएको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिन्छन ।

घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् । यो समुदायले परापूर्वकालदेखि नै मुख्य बालीका रुपमा आलुखेती गर्दै आएको छ ।

त्यहाँ रातो, सेतो र सोलु गरी तीन प्रकारका आलु रोप्दै आएको शेर्पाले बताए । उनका अनुसार हरेक वर्ष मङ्सिर १५ देखि त्यहाँका किसान चौरी र याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडी फलेटारसम्म आलु बिक्री गर्न जाने गर्दछन् ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय मङ्सिर १५ पछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडी फलेटार आलुको बिऊ साट्न पुग्छन् । यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको