September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

उत्पादनमा भारी गिरावट आएपछि जोन क्षेत्रकै आलु सङ्कटमा

काठमाडौं, आलु उत्पादनमा भारी ह्रास आएपछि व्यवसायिक रुपमा आलु खेती गर्दै बागलुङका कृषक अहिले मारमा परेका छन् । अत्यधिक वर्षाका कारण आलु उत्पादन नभएपछि आलु जोनका रूपमा परिचित क्षेत्र अहिले सङ्कटमा परेको हो ।

यसपटक आवश्यक भन्दा बढी वर्षात् भएका कारण आलु उत्पादनका लागि निकै उर्वर मानिएको क्षेत्रमा बीउ जोगाउनसमेत मुस्किल परेको किसानको गुनासो छ ।

बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्बर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा छ वटा आलुका जोन क्षेत्र छन् ।

जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ तर, यस वर्ष आलु उत्पादनमा भारी गिरावट आएपछि आलु जोन क्षेत्रका रुपमा रहेको ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको सङ्कट भएको छ ।

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएका कारण आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिएका छन् । “आलु उत्पादन नहुँदै चार लाख पेश्की बुझेको थिए”, बुढाले भन्नुभयो, “आलु नफल्दा आधा रकम फिर्ता गरिदिए ।”

बुढाका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरुप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएका कारण आलुको बीउ मात्रै जोगाइएको बूढाको भनाइ छ ।

अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रुपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।