
कपिलवस्तु, दुई दशक बढी समय देखि निरन्तर रुपमा टेलिभिजन पत्रकारितामा सक्रिय रहेका पत्रकार वनारसी वर्माको आज निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मृगौला रोगको समस्या रहेका वर्माको ६२ वर्षको उमेरमा तौलिहवामा निधन भएको छ । उनको मृत्यु पछि आएको स्वाब परीक्षणको रिर्पोट अनुसार उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वर्गीय पत्रकार वर्माले २ दशक बढी समय देखि नेपाल टेलिभिजनमा कपिलवस्तु जिल्लाबाट संवाददाताको रुपमा क्रियाशील रहेका थिए । नेपाल पत्रकार महासंघको पुर्व उपाध्यक्ष, मधेशी पत्रकार समाजको केन्द्रिय उपाध्यक्षको पदमा क्रियाशील भएका वर्मा जिल्लामा अग्रज पत्रकारका रुपमा चिनिएका थिए । स्वर्गीय पत्रकार वर्माको भोलि सोमवार तौलिहवा स्थित वाणगंगा नदीको रामघाटमा अन्तिम दाह संस्कार गरिने तयारी गरिएको छ ।
पत्रकार वर्माको निधन प्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टर लगायत पत्रकार संवद्ध संघ संस्थाले समवेदना प्रकट गरेका छन् । सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता रअभिषेक प्रताप शाहले पत्रकार वर्माको निधनबाट आफु निकै मर्माहित भएको र शोकको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
कपिलवस्तु नगरपालिकाका वडा अध्यक्ष सुदीप पौडेलले आफ्नो वडाको विशिष्ट व्यक्तिको रुपमा रहेका पत्रकार वर्माको निधनबाट सम्पूर्ण वडावासी हरु निकै दुखी भएको बताउंदै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । स्वर्गीय वर्माका पत्नी, दुई छोरी र दुई जना छोरा छन् ।






