
इलाम, अलैँचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा रु एक लाख प्रति मन कोरोबार हुँदा र अहिले सरदर रु २० हजार प्रति मन हुँदा पनि एउटै छ । व्यवसायीका अनुसार अहिले नेपालबाट जाने अलैँचीको मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) को नै बिल भन्सारमा बनाउनुपर्ने बाध्यता छ ।
यही कारण नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त रु ३०० भन्सार मूल्य देखाएर भारत अलैँची पठाउनुपर्ने बाध्यता छ । यो भन्सार मूल्य नेपाली बजारमा किसानको अलैँची किनेको मूल्यको झण्डै दोब्बर मूल्य हो । “भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ”, अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भन्नुभयो, “यो सबै मूल्य किसानले नै तिर्नुपर्छ । हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि नाफा हुन्छ ।” आठ वर्षयता नेपालबाट जाने अलैँचीको भन्सार मूल्य सोहीअनुसार छ । अलैँचीको मूल्य अधिकतम हुँदा यो दरअनुसार भन्सार मूल्य बनाउन गाह्रो छैन तर किसानसँग किनेको मूल्यभन्दा बढी पर्दा समस्या हुने गरेको व्यवसायीको गुनासो छ ।
“हामीले पारि (भारतीय भन्सार) मा जतिको मूल्य बनायो नेपाल सरकारलाई कर पनि त्यहीअनुसार बुझाउनुपर्छ”, अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक नेपाल बताउँछन्, “प्रतिमन रु एक लाख अलैँचीको मूल्य हुँदा त सजिलो थियो अहिले त कसरी तिर्नु त्यो मूल्यअनुसारको कर ? त्यसैले अत्यन्तै गाह्रो छ । घाटा खाएर गर्नुपर्ने व्यवसायमा सरकारको कदम पनि केही दह्रो हुनु पर्ने हो तर त्यस्तो देखिँदैन ।”
अहिलेको प्रावधानअनुसार रु चार लाखसम्म नेपाल सरकारलाई कर बुझाउनु नपर्ने प्रावधान छ भने चार लाखभन्दामाथि प्रतिलाखको १० प्रतिशत कर बुझाउनुपर्छ । त्यस्तै रु २० लाख कोराबार गर्दा २० प्रतिशत भन्सार बुझाउनु पर्छ । सोही दरमा नेपाल सरकारलाई व्यवसायीले कर बढाएर तिर्नुपर्ने प्रावधान छ तर भारतीय भन्सारमा बढी मूल्यको अलैँची (८०० प्रतिकिलो) बनाउँदा स्वतः कोरोबार बढी देखिने हुँदा बढी भन्सार तिर्नुपरेको व्यवसायीको भनाइ छ । भन्सार मूल्य समायोजन गर्नका लागि व्यवसायीका तर्फबाट नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण भएको पनि हो तर सरकारका तर्फबाट ‘ठोस’ पहल नहुँदा बढी मूल्यको भन्सार मूल्य बनाउनुपरेको हो ।







