
स्टोकहोल्म, विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन्। शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो। अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो।
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन युवा स्ट्राइकर केइलिन एमबाप्पे नायक बने। एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो। एमबाप्पेले डिबक्सभित्र स्विडेनका दुई रक्षकलाई छलाउँदै एकल प्रयासमा गोल गरेका थिए। फ्रान्सले खेलको अन्तिम समयमा पाएको पेनाल्टी पनि गुमाएको थियो। एन्टोइन ग्रिजम्यानले पेनाल्टीको सदुपयोग गर्न सकेका थिएनन्। भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा ग्रिजम्यान चुकेका थिए। उनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो। मध्य भागमा औसत प्रदर्शन गरेको घरेलु टोली स्विडेन अग्रपंक्तिमा भने कमजोर साबित बन्यो। फ्रान्सको रक्षापंक्ति तोड्न स्विडेनलाई हम्मेहम्मे परेको थियो।
यसैगरी अर्को एकपक्षीय खेलमा पोर्चुगललाई जिताउन जोआओ क्यानसेलोले ४१औं मिनेटमा गोलको खाता खोलेका थिए। टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिनै उत्रिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थपेको थियो। ५८औं मिनेटमा डियोगो जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि जोआओ फेलिक्सले ७०औं र आन्द्रे सिल्भाले खेलको अन्तिममा गोल गर्दै पोर्चुगललाई सहज जित दिलाएका थिए।anp







