
जेरुसेलम, इजरायलमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । संक्रमण फैलिनबाट रोक्न सरकारले कडा नयाँ नियमहरु पनि घोषणा गर्न थालेको छ ।
इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।
पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।
समग्रमा इजरायलमा एक लाख ३० हजार संक्रमित भएका छन् जसमा २६ हजारभन्दा बढी व्यक्ति संक्रमणकै स्थितिमा रहेका छन् ।







