छाङवन,सविना कार्की
दक्षिण कोरियाको छाङवनमा जारी ‘पाँचौँ एसिया–प्यासिफिक डेफ फुटबल च्याम्पियनसिप’ मा सहभागी हुन आएको नेपाल बहिरा राष्ट्रिय फुटबल टोलीलाई ख्यङनाम नेपाली समाज र नेपाल फुटबल महासंघ दक्षिण कोरियाले संयुक्त रूपमा स्वागत तथा भेटघाट कार्यक्रम गरेका छन्।
नोभेम्बर २० देखि २९, २०२६ सम्म चल्ने यस प्रतियोगितामा नेपालबाट ३६ सदस्यीय टोली सहभागी छ, जसमा पुरुष र महिला दुवै राष्ट्रिय टोली समावेश छन्। भेटघाटमा महिला टोलीकी प्रशिक्षक अनु लामा, पुरुष टोलीका प्रशिक्षक जयकृष्ण श्रेष्ठ र अनिल गुरुङ, नेपाल बहिरा संघका अध्यक्ष कुलप्रसाद शर्मा तथा राष्ट्रिय खेलाडीहरूसँग परिचयात्मक एवं आत्मीय संवाद भएको थियो।
कार्यक्रममा ख्यङनाम नेपाली समाजका अध्यक्ष रवी खवास, संरक्षक धन ब. मगर, महासचिव दिपक आचार्य, सहकोषाध्यक्ष केदार अधिकारी, मनोज घलान तथा फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष हेमन्त गुरुङले टोलीलाई दक्षिण कोरियामा स्वागत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुनु समग्र नेपालीका लागि गौरवको कुरा भएको बताउनुभयो।
उहाँहरूले खेलाडीहरूको समर्पण, अनुशासन र साहसको प्रशंसा गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजासहित नेपालको झण्डा उच्च राख्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो। साथै, प्रवासी नेपाली समुदाय र राष्ट्रिय खेलाडीबीचको आपसी सहकार्य, सद्भाव र एकतालाई अझ बलियो बनाउने विषयमा समेत छलफल गरिएको थियो।
प्रवासी नेपाली संघसंस्था र टोलीबीचको यो भेटघाटले आपसी सम्बन्ध सुदृढ पार्नुका साथै नेपाली खेलकुदप्रतिको सामूहिक साथ र हौसलालाई थप उजागर गरेको छ। दुवै आयोजक संस्थाले सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीको सुखद, सुरक्षित र सफल बसाइको कामना गरेका छन्।
(आयोजक: ख्यङनाम नेपाली समाज, छाङवन र नेपाल फुटबल महासंघ दक्षिण कोरिया)








