दक्षिण कोरियाको राजधानी सउल तथा आसपासका क्षेत्रभन्दा बाहिरका ग्रामीण तथा प्रादेशिक क्षेत्रहरूमा विदेशी बासिन्दाको संख्या तीव्र रूपमा बढ्दै गएको छ। दक्षिण कोरियाको गृह तथा सुरक्षा मन्त्रालय (MOIS / 행정안전부) ले सार्वजनिक गरेको सन् २०२५ को अन्त्यसम्मको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो।


मन्त्रालयको तथ्याङ्कअनुसार विशेषगरी ख्याङबुक (Gyeongbuk), खाङ्वन (Gangwon) र छल्लानाम्दो (Jeonnam) क्षेत्रमा लगातार दुई वर्षदेखि विदेशी बासिन्दाको संख्या ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। स्थानीय उद्योग तथा कृषि क्षेत्रमा श्रमिकको माग र बसोबासको सहजतासँगै विदेशीहरू राजधानी बाहिर आकर्षित हुन थालेका हुन्।
कुल जनसंख्याको अनुपातमा विदेशी बासिन्दाको बाक्लो उपस्थिति रहेका प्रमुख क्षेत्रहरूमा योङाम (Yeongam), उमसङ (Eumseong), आनसान (Ansan), जिन्छन (Jincheon) र पोछन (Pocheon) रहेका छन्।
हाल कोरियामा रहेका कुल विदेशी बासिन्दामध्ये ५५.९ प्रतिशत अर्थात् १४ लाख ८७ हजार ९६८ जना सउल तथा आसपासको महानगरीय क्षेत्र (क्योङ्गी, सउल र इन्छन) मा बसोबास गर्दै आएका छन्। यद्यपि, विगतका वर्षहरूको तुलनामा राजधानी केन्द्रित विदेशीहरूको यो अनुपात बिस्तारै घट्दै गएको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयको परिभाषाअनुसार ‘विदेशी बासिन्दा’ (외국인주민) भन्नाले कोरियामा ९० दिनभन्दा बढी समयदेखि बसोबास गरिरहेका ईपीएस (E-9), दक्ष कामदार (E-7), विद्यार्थी (D-2/D-4) तथा विवाह भिसा (F-6) लगायतका भिसावाहक विदेशी नागरिकहरूलाई जनाउँछ। यसका साथै, कोरियाली नागरिकता प्राप्त गरिसकेका पूर्व-विदेशीहरू र कोरियामै जन्मिएका उनीहरूका सन्तानहरूलाई समेत यसै तथ्याङ्कभित्र गणना गरिन्छ।
यसैबीच, जेबी (JB) बैंककी कर्मचारी,लोन परामर्शदाता सन्ध्या शर्माका अनुसार पछिल्लो समय राजधानी बाहिरका क्षेत्रहरूमा विभिन्न भिसामा कार्यरत नेपाली श्रमिक तथा बासिन्दाहरूको चहलपहल बढेसँगै ती क्षेत्रहरूमा बैंकिङ तथा ऋण परामर्श लिने नेपालीहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भइरहेको छ।
Ad








