माम्फ (MAMF 2026) मा नेपाली समुदायको आवाज बुलन्द गर्दै भाषा, कला, संस्कृति तथा राष्ट्रिय पहिचानको प्रवर्द्धनमा पुर्याएको योगदान र विगत पाँच वर्षभन्दा लामो समयदेखि कार्यक्रमको सफलताका लागि निरन्तर विशेष भूमिका निर्वाह गरेको भन्दै पत्रकार सन्तोष खड्का सम्मानित भएका हुन्।

दक्षिण कोरियाको ख्याङनाम नेपाली समाजले पत्रकार महासंघका अध्यक्ष एंव बरिष्ठ सन्चारकर्मी खड्कालाई सम्मान–पत्र प्रदान गरेको हो। समाज एंव MAMF–2026 आयोजक समिति (맘프추진위원) द्वारा आयोजित २१औँ बहुसांस्कृतिक महोत्सव ‘माम्फ–२०२६’ को अवसरमा उनलाई बिशेष सम्मान गरिएको हो।
खड्का नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष तथा कामदार दैनिकका सम्पादक हुन्। उनी लामो समयदेखि नेपाली समुदायको आवाजलाई सञ्चारमाध्यममार्फत बुलन्द गर्दै आएका छन्। विशेषगरी कोरियामा रहेका नेपाली श्रमिक तथा प्रवासी नेपालीका समस्या, अधिकार, सामाजिक गतिविधि र सांस्कृतिक पहिचानका विषयमा पत्रकारितामार्फत योगदान पुर्याउँदै आएका उनलाई पुर्वी नेपालद्रारा परोपकारी पत्रकारिता पुरस्कार , रामेछाप सम्पर्क समितिद्रारा सकृय पत्रकारिता पुरस्कार लगायत आधा दर्जनभन्दा बढी दक्षिण कोरियाका मुख्य सस्थाहरुले बिशेष सम्मान गरिसकेका छन् ।
सम्मान–पत्रमा नेपाली भाषा, कला, संस्कृति तथा राष्ट्रिय पहिचानको प्रवर्द्धन, नेपाली समुदायको आवाजलाई बुलन्द गर्न, निष्पक्ष र उत्तरदायी पत्रकारितामार्फत नेपाली तथा कोरियाली समुदायबीच आपसी सम्बन्ध, सांस्कृतिक आदानप्रदान र सहअस्तित्व अभिवृद्धिमा योगदान पुर्याएको उल्लेख गरिएको छ।
यस सम्मानले दक्षिण कोरियामा रहेर नेपाली पत्रकारिता, सामुदायिक एकता तथा नेपाली संस्कृति प्रवर्द्धनमा सक्रिय व्यक्तित्वहरूको योगदानलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।






