बुसान दक्षिण कोरिया– सविना कार्की
दक्षिण कोरियामा सामाजिक तथा प्रवासी नेपाली समुदायमा सक्रिय नेतृत्व प्रदान गर्दै आउनुभएका श्री तगेन राई आफ्नो कोरिया बसाइ पूरा गरी आज (बुधबार) मातृभूमि नेपाल प्रस्थान गर्नुहुने भएको छ। उहाँ ONF बुसान शाखा तथा न्यु भिजन ग्रुप दक्षिण कोरिया गरी दुईवटा सामाजिक संस्थाहरूको पूर्व अध्यक्ष भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ।
उहाँको योगदानको उच्च कदर गर्दै गत साता ओएनएफ बुसान कमिटी र आइतबार न्यु भिजन ग्रुप दक्षिण कोरियाले छुट्टाछुट्टै विशेष सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरी औपचारिक बिदाइ गरिसकेका छन्।
संस्थागत योगदान र उच्च सम्मान
न्यु भिजन ग्रुप दक्षिण कोरियाले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै वक्ताहरूले उहाँले संस्थाको नेतृत्व गर्दै पुर्याउनुभएको अमूल्य योगदान, समर्पण, सहकार्य र उन्नतिमा निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाको हार्दिक प्रशंसा गरेका थिए। संस्थाप्रतिको उहाँको निष्ठा र निःस्वार्थ सेवा सधैँ स्मरणीय रहने न्यु भिजन परिवारले जनाएको छ।
त्यसैगरी ओएनएफ बुसान शाखाले पनि कोरियामा रहेका नेपाली समुदायको हकहित र सामाजिक कार्यमा तगेन राईले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँप्रति हार्दिक कृतज्ञता एवं सम्मान व्यक्त गरेको थियो।


सुखद यात्राको शुभकामना
आज स्वदेश फर्कँदै गर्नुभएका तगेन राईज्यूलाई दुवै संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा कोरियावासी नेपालीहरूले नेपाल यात्रा सुखद, सुरक्षित र मङ्गलमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
मातृभूमिमा परिवारजन तथा आफन्तहरूसँग सुखद समय बिताउने अवसर प्राप्त होस् भन्दै उहाँको आगामी जीवन सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र पूर्ण सफलताले भरिपूर्ण बनोस् भनी न्यु भिजन ग्रुप र ओएनएफ बुसान परिवारले हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।






