छाङ्वन दक्षिण कोरिया- सविना कार्की
दक्षिण कोरियामा आयोजित २१ औँ ‘माम्फ फेस्टिवल २०२६’ (MAMF – Migrants’ Arirang Multicultural Festival) विभिन्न सांस्कृतिक कार्यक्रमहरूका साथ भव्य रूपमा हिजो अक्टोबर २५ तारिखका दिन सम्पन्न भएको छ। वर्षाका कारण केही कठिनाइ भए पनि कोरियामा रहेका नेपाली समुदायको उत्साह र सक्रियताले कार्यक्रमलाई ऐतिहासिक र पूर्ण रूपमा सफल बनाएको भन्दै ख्यङ्नाम समाज दक्षिण काेरियाका अध्यक्ष एवं कार्यक्रममा सभापति रवि खवासले बताउनुभयो ।
नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत श्री निर्मल भट्टराई ज्यूको प्रमुख अतिथ्यतामा formal कार्यक्रम सम्पन्न भएको थियो।
छाता ओढेर मगर समुदायको सांस्कृतिक परेड र झाँकीकाे प्रस्तुति ।
प्रतिकूल मौसम र निरन्तरको वर्षाका बाबजुद नेपाली समुदायले आफ्नो सांस्कृतिक पहिचानलाई उच्च राख्दै प्रदर्शन जारी राखेका थिए। निर्धारित समयभन्दा केही ढिलो गरी दिउँसो पौने चार बजेतिर निकालिएको सांस्कृतिक परेडमा नेपालको तर्फबाट मगर समुदायको विशेष सहभागिता रहेको थियो। नेपाल मगर संघ काेरिया बुसान शाखाले अध्यक्ष दीक्षा मगरकाे विशेष सक्रियतामा प्रस्तुति सम्पन्नता गरेकाे हाे।


वर्षालाई समेत चुनौती दिँदै सहभागीहरूले छाता ओढेरै नेपालको राष्ट्रिय झण्डा बोक्नुका साथै नेपालको खैरो छानायुक्त घर र मौलिक पहिचान झल्काउने झाँकीहरू प्रदर्शन गरेका थिए। मगर समुदायको तर्फबाट प्रस्तुत गरिएको कौरा र सालैजो नृत्यले कार्यक्रम स्थलको रौनक थप बढाएको थियो।

बबिना किरातीको गीतमा झुम्यो युवा पुस्ता
कार्यक्रममा आमन्त्रित नेपालकी लोकप्रिय युवा गायिका बबिना किरातीको सांगीतिक प्रस्तुतिमा कोरियामा रहेका नेपाली युवा पुस्ता छमछम नाचेर रमाइलो गरेका थिए। गायिका किरातीका सुमधुर गीतहरूमा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए।
‘हाम्रो कान्तिपुर’ सहित सञ्चारकर्मी र योगदानकर्ताहरू सम्मानित
कार्यक्रमका अवसरमा ख्याङनाम नेपाली समाज, दक्षिण कोरियाको आयोजनामा महोत्सव सफल पार्न र विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वहरू तथा सक्रिय सञ्चारकर्मीहरूलाई कदर पत्र तथा सम्मान पत्र प्रदान गरिएको थियो।
प्रवासको भूमिमा नेपाली कला, संस्कृति र मिडियामार्फत सूचना प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘हाम्रो कान्तिपुर’ अनलाइन न्युज पोर्टलका तर्फबाट सबिना कार्की र पत्रकार महासंघ काेरियाका अध्यक्ष सन्तोष खड्कालाई प्रमुख अतिथि कार्यवाहक राजदूत निर्मल भट्टराई, समाजका अध्यक्ष रवि खबास र महासचिव दीपक आचार्यद्वारा सम्मान पत्र प्रदान गरिएको थियो।

वर्षा र प्रतिकूल मौसमका कारण सोचेभन्दा केही फेरबदल भए पनि प्रवासमा नेपाली कला, संस्कृति, भेषभूषा र आपसी सद्भावलाई जोगाउँदै ‘माम्फ २०२६’ भव्य रूपमा सम्पन्न पारिएको आयोजकले जनाएको छ।







