सियोल, दक्षिण कोरिया – सविना कार्की
नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको आयोजनामा शुभकामना आदानप्रदान तथा भव्य रात्रीभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गत अक्टोबर १७ र १८ तारिख (शनिबार र आइतबार) आयोजना गरिएको उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।
प्रवासको भूमिमा नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्दै नेपाली समुदायबीच एकता, आत्मीयता, भाइचारा र सहकार्यको भावनालाई थप सुदृढ बनाउने पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
नेपाली दूतावासका कार्यवाहक राजदूतको प्रमुख आतिथ्य
कार्यक्रममा नेपाली राजदूतावास, दक्षिण कोरियाका कार्यवाहक राजदूत निर्मल प्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। परदेशको व्यस्त जीवनशैलीका बाबजुद समय व्यवस्थापन गरी कार्यक्रममा उपस्थित भई गरिमा बढाउनुभएकोमा समाजले कार्यवाहक राजदूत भट्टराईप्रति विशेष सम्मानसहित धन्यवाद व्यक्त गरेको छ।
व्यापक सहभागिता र सांस्कृतिक आत्मीयता
दक्षिण कोरियामा सक्रिय विभिन्न वैचारिक तथा जातीय संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सञ्चारकर्मी, पत्रकार, गण्डकी प्रदेश समाजका संरक्षक, सल्लाहकार, विभागीय प्रमुखहरू तथा सह-आयोजकका रूपमा रहेका गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समाजका अध्यक्ष एवं कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा उपस्थित अतिथिहरूलाई स्वादिष्ट भोजनमार्फत हार्दिक आतिथ्यता प्रदान गरिएको थियो। हल व्यवस्थापन, भान्सा तथा भोजन व्यवस्थापन र अतिथि सत्कारमा अहोरात्र खटिने सम्पूर्ण स्वयंसेवक एवं शुभचिन्तकहरूलाई समाजले विशेष आभार प्रकट गरेको छ।
समाजद्वारा हार्दिक आभार तथा शुभकामना व्यक्त
गण्डकी प्रदेश समाज, कोरियाले कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरू, आयोजक तथा सह-आयोजक टिम र उपस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति उच्च सम्मानका साथ हार्दिक कृतज्ञता व्यक्त गरेको छ।


साथै, विशेष कारणवश कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसकेका सम्पूर्ण नेपालीहरूमा समेत विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ।






