सउल, दक्षिण कोरिया,सविना कार्की
दक्षिण कोरियामा ‘माइग्रेंट्स सिरिराङ बहुसांस्कृतिक महोत्सव’ (MAMF 2026) को २१ औं संस्करण आगामी अक्टोबर २३ देखि २५ (कार्तिक ६ देखि ८ गते) सम्म चाङवोनस्थित योंङजी कल्चर पार्क (용지문화공원) मा आयोजना हुदैछ। उक्त कार्यक्रममा नेपाली राजदूतावास सिओलले एक सूचना जारी गर्दै कोरियामा अध्ययन, रोजगार, पेशा वा व्यवसायका सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय पोशाक वा आ-आफ्नो जातीय/सांस्कृतिक भेषभूषामा सजिएर अनुशासित र उत्साहपूर्वक महोत्सवमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
कोरियामा बहुसांस्कृतिक उत्सवका रूपमा विशिष्ट पहिचान बनाएको उक्त महोत्सवमा नेपालको मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा र सांस्कृतिक विविधता प्रदर्शन गरिने भएको छ। महोत्सवका अवसरमा नेपाली राजदूतावास सिओलको तर्फबाट आफ्नै ‘सांस्कृतिक प्रदर्शनी बुथ’ (Cultural Exhibition Booth) राखिने राजदूतावासले जनाएको छ।
पञ्चेबाजा, कौडा, देउडा र झाँकीसहित विशेष सांस्कृतिक धमाका
महोत्सवको मुख्य दिन अक्टोबर २५ (कार्तिक ९ गते, आइतबार) बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म नेपाली समुदायद्वारा विविध भव्य कार्यक्रमहरू प्रस्तुत गरिनेछ।


कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित अतिथि गायिका बबिना किरातीका साथै स्थानीय कलाकारहरू सुन्दर घलान, बिमन्ता लिम्बू, सुरेन्द्र बस्नेत, उदीप कार्की (चार्ली), पेम्बा लामा, गोपिका नेपाल, प्रकाश गिरी, प्रलाप राई लगायतको सांगीतिक प्रस्तुति रहनेछ।
त्यस्तै, नेपालको विशिष्ट पहिचानका रूपमा रहेका पञ्चेबाजा, देउडा नृत्य, थारू नृत्य, मगर समुदायको कौडा र सालैजो नृत्य तथा NCB Crew को बेजोड प्रस्तुति रहनेछ। साथै, नेपाली राष्ट्रिय झण्डा र मौलिक पहिरनसहितको सांस्कृतिक परेड तथा झाँकी मुख्य आकर्षणका रूपमा रहनेछ। कार्यक्रमको सञ्चालन नविन सारु मगर र सुनिता गुरुङले गर्नेछन्।
नेपाली राजदूतावास सिओलले एक सूचना जारी गर्दै कोरियामा अध्ययन, रोजगार, पेशा वा व्यवसायका सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय पोशाक वा आ-आफ्नो जातीय/सांस्कृतिक भेषभूषामा सजिएर अनुशासित र उत्साहपूर्वक महोत्सवमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको व्यवस्थापन ख्याङ्नाम नेपाली समाजका अध्यक्ष रवि खवास (सम्पर्क: 010-2156-2044) र परेड व्यवस्थापन मगर संघ थेगु शाखाकी दीक्षा मगर (सम्पर्क: 010-2506-6656) ले गरिरहेका छन्। महोत्सवमा प्रवेश निःशुल्क गरिएकाेले सम्पूर्ण नेपालीले बिना शुल्क प्रवेश पाउन सकिनेछ।







