रिटर्नी फेडेरेसन नेपालले नुवाकोटको तारकेश्वर–२, तारुकाघाटस्थित बाढी प्रभावित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब रु. १ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
बाढीका कारण विस्थापित भई हाल तारुकाघाट उप–स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गरिरहेको विद्यालयलाई स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, ECD बुक सेट, कापी, पेन्सिल, बोर्ड/चार्टलगायत सामग्री आईतबार बिधालयमै पुगेर प्रदान गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराई, नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्य, फेडेरेसनका उपाध्यक्ष शान्ति लामा, महासचिव खेम कार्की, बागमती प्रदेश अध्यक्ष एकराज उपाध्याय, केन्द्रीय सदस्यहरू सुदर्शन खतिवडा र विश्व भण्डारी तथा नुवाकोट जिल्ला अध्यक्ष किशोर अधिकारी लगायत सहभागी थिए।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक देउती अधिकारी, वडा सदस्य निर्मला आले मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम रिमाल, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिति थियो।
प्रधानाध्यापक देउती अधिकारीले विपद्का कारण कठिन अवस्थामा रहेका विद्यार्थीका लागि प्राप्त शैक्षिक सामग्रीले पठनपाठन सहज बनाउनका साथै उनीहरूको मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहयोगीप्रति धन्यवाद दिनुभयो।
कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्यले एमालेले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले रिटर्नी फेडेरेसन नेपाललगायत विभिन्न जनसंगठनहरू पनि मानवीय सेवाका अभियानमा सक्रिय रूपमा सहभागी भइरहेको उल्लेख गर्नुभयो।
रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराईले विपद्को समयमा प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न फेडेरेसनले राहत, उद्धार तथा सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने बताउनुभयो।






