सउल दक्षिण कोरिया सविना कार्की
नेपालकाे रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका जिल्लाहरूमा हालै आएको विनाशकारी प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको प्रति काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले गहिरो दुःख व्यक्त गरेको छ।

साथै विपत्तिको यस कठिन घडीमा प्रभावित परिवारहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा सघाउ पुर्याउने उद्देश्यले समितिले आफ्नो संस्थागत कोषबाट रु. १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ) नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ।
समितिले मिति ३० अगस्ट २०२६ मा एक विज्ञप्ति जारी गर्दै उक्त सहयोगको घोषणा गरेको हो। विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समितिले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको शीघ्र खोजी, घाइतेहरूको उपचार र प्रभावित परिवारको पुनर्स्थापना कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना समेत गरिएको छ।
यसैबीच काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाका अध्यक्ष सुष्मा थापा र सचिव राजेन्द्र प्रधानद्वारा हस्ताक्षरित अपिलमा प्रवासमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ-आफ्नो क्षमता र सामर्थ्य अनुसार आर्थिक, भौतिक तथा मानवीय सहयोगका लागि अगाडि बढ्न आग्रह गरिएको छ।
पीडित नागरिकका लागि सानो सहयोग पनि ठूलो आशा र भरोसाको आधार बन्न सक्ने भन्दै समितिले कठिन परिस्थितिमा एकजुट भई सहयोग गर्न सबैमा हार्दिक अपिल गरेको छ।






