भोटेकोशी बाढीमा परेर अहिलेसम्म ७ जनाको ज्यान गएको छ । नुवाकोटमा ४ जना र धादिङको त्रिशूली नदी किनारमा ३ जनाको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार अहिलेसम्म ३० जनाको उद्धार भएको छ । तीमध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको जनाएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपालका बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २९१ विदेशी र ९३ नेपाली पर्यटकसँग सम्पर्क स्थापित हुन सकेको छैन ।सम्पर्कविहीन हुनेमा नेपालीसँगै भारतीय पर्यटकको संख्या निकै ठूलो छ ।
गोसाइँकुन्ड लगायत पर्यटकीय क्षेत्रतर्फ गएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन् ।सबैभन्दा धेरै ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना सम्पर्कविहीन छन् । यसैगरी, स्मार्ट टुर्स एन्ड ट्राभल्समार्फत गएका ७१ जनासँग पनि सम्पर्क हुन सकिरहेको छैन ।






