सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ३ वटा जिल्लाका पालिकालाई ३ महिनाका लागि सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । सङ्कटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय भएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । घाइतेहरूको निःशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे ।
बैठकले घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएकाे छ ।
बैठकले बाढीबाट अवरुद्ध सडक र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत् आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानूनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवम् समन्वयात्मक ढङ्गले गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिनुभएको छ ।






