दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले पूर्वी नेपाल समाज दक्षिण कोरियाले आगामी अगस्ट १ र २ (शनिबार–आइतबार) दुईदिने ‘बृहत् बनभोज’ कार्यक्रम आयोजना गर्ने भएको छ।
सन् २०१५ मा स्थापना भएको यस संस्थाले विपद्मा परेका नेपालीहरूको उद्धार, पर्यटन तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। सोही अभियानलाई निरन्तरता दिँदै यस वर्षको बनभोज कार्यक्रम ख्याङ्गी (ग्येङ्गी) प्रान्तको गाप्योङगुनस्थित ‘꿈에 그린 펜션’ (경기도 가평군 청평면 남이터길 31) मा सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रम साँझ ८:०० बजेदेखि सुरु हुनेछ। सहभागीहरूको सुविधाका लागि दोङ्देमुनबाट बेलुका ७:०० बजे निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा नेपाली स्वादका विविध परिकारसँगै कोरियन साम्ग्योप्साल तथा विभिन्न पेयपदार्थको विशेष व्यवस्था रहनेछ। साथै, सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न डीजे, सांगीतिक तथा नृत्य प्रस्तुति पनि समावेश गरिएको छ।
खेलकुदतर्फ पुरुषका लागि फुटबल, छेलो फ्याँक्ने र पुसअप प्रतियोगिता तथा महिलाका लागि तातो आलु, हण्डी फुटाउने लगायतका रमाइला खेलहरू आयोजना गरिनेछ। विभिन्न प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी हुन पुरुषका लागि १ लाख वन, महिलाका लागि ८० हजार वन र दम्पतीका लागि १ लाख ६० हजार वन शुल्क निर्धारण गरिएको छ।
बनभोज कार्यक्रमलाई सफल बनाउन पूर्वी नेपाल समाज दक्षिण कोरिया मुख्य आयोजकका रूपमा रहेको छ भने यससँग आबद्ध १६ वटा नेपाली संस्थाहरू सह–आयोजकका रूपमा सहभागी रहेका छन्।
समाजले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन हार्दिक आग्रह गरेको छ।आयोजकका अनुसार बनभोजले प्रवासी नेपालीहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै, कार्यक्रमबाट हुने अतिरिक्त आम्दानी ‘सांस्कृतिक घर तथा पुस्तकालय’ स्थापनामा खर्च गरिने समाजले जनाएको छ।







