काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष करदातालाई विभिन्न छुट र सुविधा सहितको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ । यसअनुसार चालु वर्षको सम्पत्ति, व्यवसाय र बहाल कर असोज मसान्तभित्र बुझाउनेले १० प्रतिशत छुट पाउनेछन् । साथै विगतको बाँकी कर आउँदो असोज मसान्तभित्र तिरेमा जरिवाना पूर्ण मिनाहा हुनेछ । महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र ३५ वर्षमुनिका युवाले चलाएका साना व्यवसायलाई ४० प्रतिशतसम्म छुट दिइनेछ । २० जनासम्मलाई रोजगारी दिने नयाँ उद्योगलाई तीन वर्षसम्म ९५ प्रतिशत व्यवसाय कर छुट हुनेछ ।
पार्किङ भवनलाई १० वर्षसम्म सम्पत्ति कर छुट तथा वर्षाको पानी पुनः भरण प्रणाली जडान गरेका घरलाई ९५ प्रतिशतसम्म छुट दिइनेछ । स्थानीय भाषा र रञ्जना लिपिमा तयार साइनबोर्डमा पनि ९५ प्रतिशत छुट हुनेछ । करदाताले चाहेमा कर तीन किस्तामा पनि बुझाउन सक्नेछन् ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन बस सेवाबाट पहिलो तीन महिनामा ६७ हजार ७०१ जना लाभान्वित भएका छन् । कार्यवाहक मेयर सुनिता डङ्गोलका अनुसार वैशाखदेखि सुरु गरेको सेवामा पहिलो महिनामा १९ हजार, जेठमा २७ हजार र असारमा २० हजारभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।
अहिले यो सेवा लगनखेल–बुढानीलकण्ठ र थानकोट–विमानस्थल रुटमा सञ्चालनमा छ । दुवै रुटमा झण्डै बराबर संख्यामा यात्रुले सेवा उपयोग गरेका छन् । रात्रिकालीन सार्वजनिक यातायातप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएकोले थप क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । महानगरले साझा यातायातसँगको सहकार्यमा यो सेवा शुरु गरेको हो ।








