सम्माननीय प्रधानमन्त्री आज संसदमा के बोल्न गएका थिए, त्यो उहाँलाई नै थाहा होला। तर “प्रधानमन्त्री भएपछि थाहा भयो, नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति सामान्य टिप्पणी होइन। यस्तो संवेदनशील विषयमा बोलिने प्रत्येक शब्दले देशको धारणा, कूटनीति र राष्ट्रिय मनोबलमा असर पार्छ।
अझ रोचक कुरा त के छ भने, केही वर्षअघि भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर राष्ट्रवादको चर्को स्वर बनेका व्यक्ति नै आज प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो अभिव्यक्ति दिइरहेका छन्। प्रश्न उठ्छ— तीन महिनामै दृष्टिकोण यति धेरै बदलियो कसरी ? कसले के तथ्य बुझायो ? कुन जानकारीको आधारमा यस्तो निष्कर्ष आयो ?
सत्ताको वरिपरि को छन् ? कस्ता सल्लाहकार छन् ? कुन समूहले कुन भाष्य निर्माण गरिरहेको छ ? यस्ता प्रश्न उठ्नु अस्वाभाविक होइन। किनकि सत्ता केवल पद होइन, प्रभावको केन्द्र पनि हो। त्यहाँ पुग्ने सूचना, सुझाव र दबाबहरूले धेरै कुरा निर्धारण गर्छन्।
कतै यो केवल जिब्रो चिप्लिएको घटना हो ? वा कुनै गहिरो राजनीतिक सन्देशको संकेत ? त्यो समयले बताउला। तर यति चाहिँ निश्चित छ— राष्ट्रियता, सीमा र सार्वभौमिकताजस्ता विषयमा बोलिने शब्दहरू हल्का हुँदैनन्। ती इतिहासले पनि सम्झन्छ, जनताले पनि।
कतै गिरिजा बाबुले भने जस्तो ग्र्याण्ड डिजाइन त छैन । हुनत काठमाडौं फोहोर उठाउने बिसयमा त अन्तरास्ट्रिय हस्तक्षेप भन्न सक्नेले केही तर्क देलान
सत्तामा पुगेर शब्द बदलिनु स्वाभाविक हुन सक्छ, तर सत्य बदलिनु हुँदैन।







