एनआरएनए दक्षिण काेरियाका अध्यक्ष विपिन कुमार गुरुङ र उपाध्यक्ष अवदेश राज चाैरासीयाकाे सक्रिय पहलमा चेत प्रसाद मगरकाे उद्वार अन्तिम चरणमा पुगेकाे छ । मगरको सारा प्रक्रियाहरु पूरा गरि यही फेब्रुअरी २१ तारीख नेपाल पठाइने भएको छ।
# चेत प्रसाद मगर – घटना विवरण र उद्वार प्रक्रिया
नेपाल घर दाङ्सिङ, वार्ड नम्बर ९, कास्की पोखरा निवासी चेत प्रसाद मगर सन् 2008 मा EPS मार्फत दक्षिण कोरिया आएका थिए। पहिलो कार्यकाल सम्पन्न गरेपछि हालसम्म कोरियाको Suwon शहरमा अवैध (इलिगल) अवस्थामा बस्दै आएका थिए।
करिब चार महिना अघि उहाँ अचानक बिरामी पर्न थाल्नुभयो। अवैध अवस्थाका कारण अस्पतालमा उपचार गराउन अत्यन्त कठिन भयो। कहिलेकाहीँ फार्मेसीबाट औषधि किनेर सेवन गरिरहनुभएको थियो, तर स्वास्थ्यमा सुधार नआई अवस्था झन् बिग्रिँदै गयो।
एक महिना अघि उहाँ बस्दै आएको सेल्टरमा बेहोस अवस्थामा भेटिनुभयो। त्यहाँका एक कोरियन नागरिकले तुरुन्त अस्पताल पुर्याएपछि जाँच सुरु भयो। जाँचको क्रममा उहाँमा मधुमेह (चिनी रोग) अत्यधिक देखियो। मधुमेहका कारण खुट्टामा भएको घाउ झन् जटिल बन्दै गयो र निको हुन निकै गाह्रो भयो।
यसबीच उहाँले NRNA का एक पूर्व अध्यक्षसँग सम्पर्क गर्नुभयो। ती व्यक्ति अस्पताल पुगेर अवस्था बुझ्नुभयो। तर बिरामीसँग कुनै वैधानिक कागजात नभएकाले उपचार प्रक्रिया जटिल र खर्चिलो हुने बताइयो। पूर्व अध्यक्षले “पहिले पैसाको जोहो गर्नुपर्छ, कागजपत्र मिलाउन गाह्रो छ, त्यसपछि मात्र उपचार अगाडि बढाउँछु” भन्ने धारणा राख्नुभयो।
बिरामीको परिवार आर्थिक रूपमा कमजोर भएकाले ठूलो रकम जुटाउन सकेन। त्यसपछि पूर्व अध्यक्षले बिरामीका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे, जुन निकै भाइरल भयो। उक्त समाचार EPS Xingu ले पनि आफ्नो पेजमार्फत साझा गर्यो। त्यसपछि परिवारले EPS Xingu सँग सम्पर्क गरी “यो हाम्रो मान्छे हो, सहयोग गरिदिनुहोस्” भनेर अनुरोध गर्यो। तर पैसाको माग राखिएपछि परिवारले असमर्थता जनायो। त्यसपछि “नेपाल पठाउन सकिँदैन, उधार पनि गर्न सकिँदैन, पहिले आफैं कागज बनाउनुहोस्” भन्दै बिरामीलाई सहयोगविहीन अवस्थामा छोडिएको बताइएको छ।
यसपछि EPS Xingu ले कोरियामा रहेका विभिन्न व्यक्तिसँग सहयोगका लागि आग्रह गर्यो, तर कोही पनि अघि बढ्न सकेनन्। अन्ततः EPS Xingu ले आफ्ना कोरियास्थित पूर्व सहकर्मी, नेपाल तराई समाजका अध्यक्ष तथा NRNA दक्षिण कोरियाका उपाध्यक्ष Awadhesh Raj Chaurasiya सँग सम्पर्क गर्यो। सम्पूर्ण विवरण सुनेपछि उहाँले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भोलिपल्ट बिहानै अस्पताल पुग्नुभयो। बिरामीको अवस्था बुझेर अस्पताल प्रशासनसँग छलफल गरी उपचार प्रक्रिया अगाडि बढाउने निर्णय लिनुभयो।
डाक्टरको सल्लाह अनुसार मधुमेह र चिसोका कारण गम्भीर संक्रमण भएकोले दुवै खुट्टाका जम्मा ९ वटा औंला काट्नुपर्ने निष्कर्ष निकालियो। विकल्प नभएकाले शल्यक्रिया गरियो र अपरेशन सफल भयो।
त्यसपछि उपाध्यक्ष अवधेशले Embassy of Nepal, Seoul सँग सम्पर्क गरी सम्पूर्ण अवस्था जानकारी गराउनुभयो। साथै आफ्नो NRNA टिमसँग पनि समन्वय गर्नुभयो। NRNA दक्षिण कोरियाका वर्तमान अध्यक्ष Bipin Kumar Gurung ले “सबै प्रक्रिया अगाडि बढाउनुहोस्, हामी साथमा छौं” भनी पूर्ण समर्थन जनाउनुभयो।
त्यसपछि आवश्यक ट्राभल डकुमेन्टदेखि अन्य सबै कागजात २ दिनभित्र तयार पारियो। बिरामीलाई यही फेब्रुअरी २१ तारिख नेपाल पठाउने तयारी पूरा भएको छ।






