राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आइतबार एक छलफलमा सुकुम्बासी समस्या समाधानबारे जे उपाय सुझाएका छन्, काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले त्यही काम गर्न सधैं अवरोध गरे। पाटनको ज्वागलस्थित निजी कार्यालयमा आइतबार बिहान रास्वपा उम्मेदवारहरूसँग छुट्टाछुट्टै भेट्दा बालेनले नेपालमा सुकुम्बासी समस्या किन समाधान हुन सकेन भनेर आफ्नो धारणा राखेका हुन्।
मकवानपुर–२ का रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले बालेनसँगको कुराकानीमा आफ्नो क्षेत्रको पश्चिमी भूभागमा भूमिको समस्या रहेको बताएका थिए। लामो समयदेखि तिरो तिर्दै आए पनि लालपुर्जा पाउन नसकेको समस्या उनले सुनाएका थिए।
यसैको जबाफ दिँदै बालेनले वास्तविक सुकुम्बासीहरू जग्गा पाउनबाट वञ्चित रहेको र सरकार तथा भूमि आयोगका पदाधिकारीसँग निकट रहेकाहरूले मात्र लालपुर्जा पाइरहेको आरोप लगाए।
सरकार र भूमि आयोगले वास्तविक र नक्कली सुकुम्बासी छुट्टयाउन नसकेकाले नै यो समस्या समाधान हुन नसकेको टिप्पणी पनि उनले गरे।
‘वास्तविक सुकुम्बासी सरकारले पनि छुट्टयाउन सकेन, भूमि आयोगले पनि सकेन,’ बालेनले भने, ‘सरकारमा जो छ, ऊसँग निकट भएकाहरूले पाँच वटा भए पनि जग्गा पाएका छन्, तर वास्तविक सुकुम्बासीले पाएका छैनन्।’
‘ठ्याक्कै रियल (वास्तविक) सुकुम्बासी जो हो, उसले लालपुर्जा पाउनुपर्ने हो। उसलाई ठ्याक्कै पहिचान गरेर जग्गा दिन सकिने वातावरण थियो। त्यो भूमि आयोगको काम हो। तर उसले काम गर्दिएन,’ बालेनले भने।
‘भूमि आयोगमा पनि टीकेहरू नै जान्छन्। पार्टीबाट टीका लगाएर जाने, अनि पार्टी नजिक नजिकका जो छन्, उसलाई मात्र लालपुर्जा दिने। यो पनि भ्रष्टाचार नै हो,’ उनले अगाडि भने, ‘यसलाई ठ्याक्कै छुट्टयाएर हेर्नुपर्छ। को वास्तविक सुकुम्बासी हुन्, को पहिलेदेखि बसेका हुन् भन्ने कुरा वरिपरिको चिनजानका आधारमा पनि थाहा हुन्छ। त्यहीँ वर्षौंदेखि बसिरहेकालाई पनि थाहा हुन्छ।’
भूमि आयोगले वास्तविक सुकुम्बासी छुट्टयाउन सकेको भए यो समस्या एक वर्षमै समाधान गर्न सकिने दाबी पनि बालेनले गरे।बालेनको यो भनाइ युट्युब मिडिया ‘सुनौलो नेपाल’ लगायतले आफ्नो फेसबुकमा सेयर गरेको छ।







