नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन्।गृहजिल्ला झापाबाट शुक्रवार काठमाडौं फर्कने क्रममा विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको अध्यक्ष ओलीले बताएका हुन्।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शुक्रबार आफूमाथि अपमानित व्यवहार भएको बताएका हुन् ।
‘अस्ती म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरुमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ ? हैरान पारेको छ । अचम्मै त्यो विदेश जाँदाखेरी कहिले कहिले त्यो विदेश जाँदा पनि चिनेको ठाउँहरुमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरुलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ,’ उनले भने।
उनले देशको सम्मानका लागि लडेका कारण आफूले त्यसलाई धेरै ठूलो रूपमा नलिएको बताए।’तर सरकारको दृष्टिकोण, सरकारको मति चाँही के हो? नेताहरुको अपमान गर्ने हो । त्यो सरकारले हिजै देखायो । एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो । एउटा जिम्मेवार सरकार होइन । अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरु हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ,’ उनले भने।







